दफा २०
मनोनयनपत्रको दर्ता
(१) उम्मेदवारको मनोनयनपत्र उम्मेदवार आफैँले वा निजको प्रतिनिधि वा प्रस्तावक वा समर्थकले सम्बन्धित निर्वाचन अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको मनोनयनपत्र सम्बन्धित निर्वाचन अधिकृतले यस ऐन बमोजिम रीतपूर्वकको भए नभएको जाँचबुझ गरी रीतपूर्वकको भए दर्ता गरी सोको निस्सा मनोनयनपत्र दर्ता गर्न ल्याउने व्यक्तिलाई दिनु पर्नेछ ।
(३) कसैले प्रस्तावक वा समर्थक नभएको, प्रस्तावक वा समर्थक दोहोरिएको, यस ऐन बमोजिमको धरौटी राखेको निस्सा नभएको, प्रस्तावक वा समर्थक वा उम्मेदवार हुने व्यक्तिको सहीछाप नभएको वा अन्य रीत नपुगेको मनोनयनपत्र दर्ता गर्न ल्याएमा निर्वाचन अधिकृतले रीत नपुगेको जति कुरा सच्याउन लगाई त्यस्तो मनोनयनपत्र दर्ता गर्नु पर्नेछ । कसैले यसरी रीत नपुगेको कुरा नसच्याई मनोनयनपत्र दर्ता गराउन चाहेमा सोही व्यहोरा मनोनयनपत्रमा जनाई त्यसको सूचना मनोनयनपत्र दर्ता गराउने व्यक्तिलाई दिनु पर्नेछ ।
(४) मनोनयनपत्र साथ पेश गर्नु पर्ने अन्य कागजात तोकिए बमोजिम हुनेछ ।
(५) निर्वाचन अधिकृतले मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ ।